Tuesday, September 4, 2012

देवदास स्मृति पत्रकारिता पुरस्कार र मेरो पत्रकारिता




शेरबहादुर भुजेल

कुरो २०६१ साल तिरको हो । प्रविणता प्रमाणपत्र पढ्दा गर्दा मलाई पत्रकार बन्ने तिब्र चाहना थियो । तर कसरी बन्ने पत्रकार, देश चरम द्वन्द्वको अवस्थामा थियो । म कहिले चरिकोट हुन्थे । कहिले गाउँ पवटी पुग्थे । पढाई थियो सदरमुकाम चरिकोटको गौरीशंकर बहुमुखी क्याम्पसमा ।

त्यतिबेला उकाली पत्रिका निकै लोकप्रिय थियो । गाउँ गाउँमा पुग्ने सो पत्रिका कृषि, वन र स्वास्थ्यका कुरा बढी हुन्थे । म पनि गाउँका खबरलाई उकालीमा लेखी पठाउथे । हातले लेख्थे अनि खामबन्दि गरेर हुलाकमा गई २ रुपैयाँको टिकट टाँसेर पठाउँने । मासिक रुपमा प्रकाशन हुने उकाली पत्रिकामा कुनै महिना त मेरो ५ वटा सम्म समाचार छापिएको छ । अहिले ती समचार पढ्दा आफैलाई उदेक लागेर आउँछ । जे होस् आखिर मेरो पत्रिकाको कखरा सिकाउने त त्यही उकाली पत्रिका पो रहेछ । अहिले महसुस हुन्छ ।
यस्तैमा एकदिन थाहा भयो । एक ट्युसन सेन्टरले पत्रकारिताको आधारभूत तालिम आयोजना गर्दै रहेछ । तर त्यतिबेला म गाउँमा थिए । तामिलको शुल्क ३ सय तोकीएको रहेछ । ३ दिन सञ्चालन हुने तालिममा ३ सय बुझाए पछि खाजा र स्टेसनरी पाइने रहेछ । तामिल लिन पवटीदेखी चरिकोट आउनु पर्ने भयो । तर तत्कालीन द्वन्द्वरत माओवादीले आम हडताल आयोजना गरिदिए । अब परेन फसात, कसरी आउने सदरमुकाम पत्रकारिताको तालिम लिन । मैलै हिडेर सदरमुकाम जाने निर्णय गरे । लगभग पवटीबाट ५ घण्टा मज्जाले हिडेपछि मात्र सदरमुकाम पुग्न सकिन्छ ।

तामिल सुरु भयो । मुख्य प्रशिक्षक हुनुहुन्थ्यो देवदास श्रेष्ठ, अनि अन्य प्रशिक्षकमा चिरञ्जीवी मास्के र राजेन्द्र मानन्धर । मास्के तत्कालिन नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्ष हुनुहुन्थ्यो । यो नै मेरो पत्रकारिताको पहिलो औपचारिक तालिम थियो । धेरै कुरा सिकियो तालिममा । समाचार लेखन शैलीमा बारेमा देवदास श्रेष्ठले वुझायो भयो । आचार संहिताको बारेमा चिरञ्जीवी मास्केले अनि फिचर लेखनमा बारेमा राजेन्द्र मानन्धरले सिकाउनु भयो । निश्चयनै तालिम पश्चात मेरो लेखाइमा निकै सुधार भयो । उकाली पत्रिकामा निरन्तर रुपमा लेख्न थाले । त्यतिबेला दोलखामा अरु पत्रिका प्रकाशन हुदैनथे । रेडियोको त कुरै नगरौ ।
पत्रकारिता तालिमले देवदास सर सँग मेरो निकटता बढायो । म मेरो गाउँ र आसपासका खवरहरु म निरन्तर रुपमा वहाँलाई जानकारी गराउँथे अनि वहाँले त्यसलाई वहाँले काम गर्ने अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशन गर्नु हुन्थ्यो । वहाँका समाचारका स्रोत म बन्थे । सदरमुकाममा भेट हुँदा वहाँ मुसुक्क हास्दै भन्नु हुन्थ्यो “शेरबहादुर तपाईको उकालीमा आएको समचारलाई पनि मैले मिलाएर अन्नपुर्णमा पनि छापिदिएको छु है ” यसरी देवदास श्रेष्ठ लगायत अन्य अग्रज पत्रकार सँग मेरो निरन्तर सम्पक जारी रह्यो ।
समय वित्दै गयो । २०६२ साल भदौ १६ गते म सदरमुकाममै थिए । अचानक देवदास सरलाई हृदयघात भएको खबरले चरिकोट बजार तात्यो । वहाँ सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक मावि हाल उच्च माविमा अध्यापन गराउनु हुन्थ्यो । विद्यालयमै हृदयघातका कारण वेहोस हुनु भएको श्रेष्ठलाई चरिकोटमा रहेको तत्कालित च्छो रोल्पा पोलिक्लिनिकमा उपचार हुन नसकेपछि काठमाण्डौं लैजाने क्रममा खरिढुंगामा पुगेपछि निधन भयो । वहाँको मृत शरिरलाई चरिकोट ल्याइयो र अन्तिम संस्कार गरियो । यसरी देवदास सर सँगको मेरो छोटो सहकार्य सधैंका लागि टुट्यो ।
पछि देवदास सरका छोरी रश्मि पत्रकारितामा क्रियासिल हुनु भयो । पछि वहाँ राजेन्द्र मानन्धर अध्यक्ष भएको पहिलो कार्यकालमा नेपाल पत्रकार महासंघ दोलखाको उपाध्यक्ष हुनु भयो । म सदस्य । एक कार्यकाल वहाँ र मैले सँगै काम गरौ । तर पछिल्लो कार्यकालका लागि भने हामी पराजित भयौ । अहिले भने रश्मि पत्रकारिता छाडेर अमेरिका जाने तयारीमा हुनुहुन्छ ।
  देवदास श्रेष्ठको स्मृतिमा तत्कालिन नेपाल पत्रकार महासंघले देवदास स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरी जिल्लाका क्रियासिल पत्रकारलाई बार्षिक रुपमा प्रदान गर्दै आइरहेको छ । यो पुरस्कारबाट सुरुमा पत्रकार ईश्वरी न्यौपाने सम्मानित हुनु भयो । त्यसपछि शम्भु गौतम, चिरञ्जीवी मास्के बाबुराम शर्मा, लक्ष्मण खड्का सम्मानित हुनु भयो । पुरस्कारबाट आज म सम्मानित भएको छु । नेपाल पत्रकार महासंघले गएको वर्षको यो प्रतिष्ठित पुरस्कार मलाई प्रदान गर्ने निर्णय गरेको हो  ।
यो प्रतिष्ठित पुरस्कार मैले पाउनु भनेको मलाई जिम्वेवारी थपिनु हो भन्ने मैले बुझेको छु । यो पुरस्कारले मलाई आगामी दिनमा थप सशक्त ढंगले पत्रकारिता गर्नका लागि प्रेरणा मिलेको छ । अनि देवदास सर सँगको स्मरणलाई आजीवन स्मरण गर्नका लागि पनि ।

0 comments:

Post a Comment