Monday, July 23, 2012

जलवायु परिवर्तन सामान्य बुझाई






शेरबहादुर भुजेल

जलवायु परिवर्तन अहिले यो धेरै तिर सुनिने शब्द बनेको छ । पछिल्ला दिनहरुमा दोलखामा पनि यसको चर्चा हुन थालेको छ । जलवायु परिवर्तन सँग जोडेर दोलखामा विभिन्न गतिवधि हुने क्रम पछिल्ला दिनहरुमा बढेको छ । सरकारी होस् वा गैरसरकारी निकाय यिनले सञ्चालन गर्ने गतिविधिहरुमा जलवायु परिवर्तन जोडिन थालेको छ । पत्र पत्रिकाहरुमा पनि बेलाबखत जलवायु परिवर्तनका विभिन्न सवालका सामग्री पढ्न पाइन थालेको छ । तर हुन सक्छ जलवायु परिवर्तनलाई अलिहे पनि आम समुदायले बुझ्न सकेको छैन् । के हो जलवायु परिवर्तन अनि यो कसरी हुन्छ । हामी सबैले यसलाई नजिकबाट बुझ्न जरुरी छ ।

छोटो समयको लागि कुनै पनि स्थानको वायुमण्डलको तत्कालिन अवस्थालाई मौसम भनिन्छ । अनि लामो समय सम्मको औसत मौसमलाई जलवायु भनिन्छ । समय अनुसार हुने घटनाक्रमहरु बर्षायाममा पानी पर्नु, जाडो समयमा चिसो हुनु आदिलाई जलवायु भनिन्छ । तर मौसम परिवर्तन भइरहने अवधी छोटो हुदै जानु वा मौसम छोटो समयमा परिवर्तन हुन्छ भने हामी त्यसलाई जलवायु परिवर्तन भन्न सक्छौ । तर कुनै खास स्थानको २० देखी ३० वर्षको मौसमलाई आधार मानेर मात्र जलवायु परिवर्तन भएको मान्न सकिने बैज्ञानिकहरुले बताउने गरेका छन् ।
जलवायु परिवर्तन कसरी हुन्छ भने हामीले सबैले बुझेको कुरा हो की पृथ्वी सूर्यको वरीपरी घुम्छ । त्यस क्रममा पृथ्वी वरीपरी रहेका वायु ग्यासलाई सूर्यले तातो बनाउने काम गर्छ । यसैले गर्दा पनि फरक फरक ठाउँमा फरक फरक जलवायु पाइन्छ । वायुमण्डलमा रहेको यि विभिन्न प्रकारका वायु मध्य केही ग्यासको प्रभाव बढी हुने गर्छ । यस्ता वायुहरुलाई हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) भनिन्छ । किनकी यसले हरितगृहमा भएको सिसाको भित्ताले जस्तै काम गर्ने भएकाले यसलाई हरितगृह ग्यास भनिएको हो । यसैले सूर्यको भित्र छिर्न दिन्छ अनि सूर्यबाट खराव विकिरणलाई फर्काइदिन्छ । जसले गर्दा पृथ्वीको नजिक न्यानो भई रहन्छ । यसले गर्दानै पृथ्वीमा मानव जीवनको अस्तित्व सम्भव भएको हो ।
सूर्यबाट आउने तापमध्य केही हरितगृह ग्यास र पृथ्वी दुबैले आकाशमै फर्काइदिन्छ । सूर्यको केही तापलाई हरितगृह ग्यासले छेक्छ र वायुमण्डलमै राख्छ । यसले गर्दा पनि पृथ्वी न्यानो हुन्छ । यदि यस्तो नहुने भए पृथ्वी चिसो हुने थियो र मावनजीवन सम्भव थिएन् । यो प्राकृतिक प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ । मानिसले गर्ने विभिन्न क्रियाकलापका कारण कार्वन डाईअक्साइड ग्यास र अन्य हरितगृह ग्यासको थप उत्सर्जन हुने भएकाले हरितगृहको प्रभाव झनै बढ्ने गर्छ । जसले गर्दा पृथ्वीको भु तापमान वृद्धि हुने गरेको छ । यसमा मानवजीवनको आधुनिक जीवन प्रद्धती मुख्य कारण मानिन्छ । यसले गर्दा दिनप्रतिदिन पृथ्वी तातो हुने क्रम बढेको छ । सन् १९९० को दशक अहिले सम्म सबैभन्दा तातो दशक मानिन्छ । सन् २००५ लाई अलिहे सम्मको सबैभन्दा तातो वर्षा मानिएको छ । सन् २१०० को अन्तमा पृथ्वीको औसत तापक्रम १.४ देखी ५.८ सम्म बढ्ने अनुमान गरिएको छ । नेपालमा भने बर्षेनी ०.०६ डिग्री सेल्सिएसको दरले तातो हुदै गएको नास्टले जनाएको छ ।
अर्को हामीले बुझ्नु पर्ने कुरा भनेको विश्वभरी उत्पादन हुने हरितगृह ग्यासको मात्रामध्य केवल ०.०२५ प्रतिशत भागमात्र नेपालले उत्पादन गर्छ । बैज्ञानिकहरुले भनेका छन की विश्वको कुल जंगलको एक तिहाई भाग जलवायु परिवर्तनका कारण प्रभावित हुन सक्छन् । आउदो सताब्दीमा समुन्द्रि सतह केही इन्चदेखी ३ फिटसम्म बृद्धि हुन सक्ने पनि बैज्ञानिकहरुले अनुमान गरेका छन् । नेपालमा २३ सय भन्दा बढी हिमनदी तथा दुई सय भन्दा बढी हिमतालहरु रहेका छन् । जलवायु परिवर्तनका कारण यिनीहरु पनि उच्च जोखिममा छन् । नेपालका हिमाली क्षेत्रमा रहेका हिमताल मध्य २० वटा कुनै पनि सयममा फुट्न सक्ने खतरामा छन् ।
जलवायु परिवर्तनका कारण हाल देखा परेको प्रभावका बारेमा चर्चा गर्नु पर्दा हिमालमा हिउँ पग्लेर जाने, पग्लेका ठाउँहरु पातलो देखिने वा कालो देखिन थालेको छ । हिउँ पग्लेर हिमतालमा पानी बढेर फुट्ने खतरा बढेको छ । मुस्ताङ लगायतका हिमाली क्षेत्रका तल्लो भागहरुमा हिउँ पर्न छाडेको छ । हुस्सु लाग्न, गर्मी बढ्न र लामखुट्टेले सताउन थालेको छ । पहिलेको खोला बगरमा परीणत भएको छ । पानी पोखरी वरीपरी रुखहरु हुर्कन थालेको छ । साथै स्याउ बेमौसममा फुल्ने र स्याउको फलहरु कम लाग्ने समस्या देखिएको छ । विभिन्न मौसममा बाहिरबाट आउँने आगन्तुक चराहरु मध्य कतिपय आउँन छाडेका छन् भने भएको स्थानीय चराहरु कतियप बाहिर जान थालेका छन् । काफल बेमौसममा फल्ने र पाक्ने हुन थालेको छ । केराउ जस्ता स्थानीय बालीहरुमा पनि प्रभाव देखिन थालेको छ । बेमौसममा बर्षा धेरै हुने र जसबाट बाढी पहिरो जस्ता खतराले सताउन थालेको छ । हिमालमा हिउँ पर्न छाडेपनि खोलानाला र पानीका मुहान सुक्न थालेका छन् । जसले गर्दा सिचाई र खानेपानीका लागि समस्या देखिन थालेको छ ।  लामोखरेडी, अतिवर्षा, अल्पबर्षा हुँदा बाढीपहिरो जस्ता प्रकोप बढेको, कृषि बालीमा नयाँ रोग किराले सताउन थालेको, तापक्रम बढ्दा जैविक विविधतामा असर पारेको, खोलानाला सुक्दा सिंचाई गर्न र जलविद्युत उत्पादन गर्न समस्या परेको अनि खानेपानीको मुहान सुक्दा महिलालाई प्रत्यक्ष रुपमा असर पारेको छ ।
यो सामग्री नेफिन रेड साझेदारी कार्यक्रमको सहयोगमा कालिञ्चोक एफएमले उत्पादन गर्ने रेडियो कार्यक्रम जलवायु परिवर्तन र जनजाति सरोकारमा प्रसारण भएको सामग्रीलाई सन्र्दभ बनाएर तयार पारिएको हो । जलावायु परिवर्तनका विविध जानकारीका आगमी अंकमा प्रस्तुन गरिने छ ।


0 comments:

Post a Comment