Sunday, September 16, 2012

पत्रकारिताको शक्ति र भावनाको उद्धार







शेरबहादुर भुजेल

दोलखा कालिञ्चोक गाविसकी भावना थामी असोज २६ गते मंगलबार दङ्ग थिइन् । एक त उनी सदरमुकाम चरिकोटको रमझम देखेर खुसी थिइन् भने अर्को थुप्रै पत्रकारहरुले उनलाई पछ्याई रहेको थिए । उनको मुहार तिर थुप्रै क्यामेरा लेन्सहरु तेस्रिरहेका थिए । भावना केही छिन सेलिब्रेटीनै बनिन् । कालिञ्चोक गाविसबाट आधा दिन लगाएर उनका पिता कालु थामीले भावनलाई सदरमुकाम ल्याएका थिए । भावनालाई सदरमुकाम ल्याइनुको कारण थियो उनको लागि बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठले संकलन गरेको रकम हस्तानरण । 
गएको वर्ष पिजे क्लवले आयोजना गरेको मेघा बैंक फोटो प्रतियोगितामा भावनाको आँखाबाट आँसु झर्न लागेको फोटो उत्कृष्ट भए वापत नरेन्द्रलाई प्राप्त भएको रकम र उनले जुटाएको अन्य रकम सहित ७५ हजार एक सय भावनालाई प्रदान  गरिएको छ । एउटा पत्रकारको सकारात्मक प्रयासको प्रशंसा गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुली र सिटिजन बैक दोलखाका प्रमुख राजेन्द्र थापाले एक एक हजार थपिदिनु भएको थियो ।

आँसुको फोटो उत्कृष्ट 

अनुहार भरी रौं पलाउने समस्याबाट पिडित भावनाले उपचार पछि अनुहारमा रौं आउने समस्याबाट मुक्ति पाइन । पत्रिकामा अनहारभरी रौं पलाएको फोटो पत्रिकामा छापिएपछि भावनलाई काठमाण्डौं मोडेल अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । सोही उपचार पछि पहिलो पटक ऐनामा आफ्नो अनुहार हेर्ने मौका पाएकी भावनाको आँखाबाट अनायासै आँसुको वर्षा भएको थियो । सोही आँसुको वर्षालाई क्यामेरा कैद गरेका नरेन्द्रको फोटो प्रतियोगितामा उत्कृष्ट भए पछि उनले त्यतिबेलानै भावनालाई आफुले पाएको रकम प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । “मैले पाएको ४० हजार नगदमा कर कटाउदा २५ हजार बाँकी भयो त्यतिबेला २५ हजार मात्र दिने सोच बनाएको थिए पछि फेरी थप सहयोग जुटाउन प्रयास गरे ।” नरेन्द्रको भनाई छ । नरेन्द्रको प्रयासमा जुटेको ७५ हजार एक सयलाई मनाकामना बैंक चरिकोटमा मुद्दती खातामा जम्मा गरिएको छ । रकमबाट प्राप्त हुने ब्याज भावनको पढाई खर्चका लागि पिता कालुमार्फत खर्च गरिने व्यवस्था मिलाइएको छ । 

अधुरो अपेक्षा 

फोटो पत्रकार नरेन्द्रले भावनका लागि एक लाख रुपैयाँ जुटाउने अपेक्षा राख्नु भएको थियो । तर नरेन्द्रको अपेक्षा पुरा हुन सकेन् । नरेन्द्रको प्रयासमा मेगा  बैंकका कार्यकारी निर्देशक अनिल शाह र जर्मन नेपाल सम्पर्क समितिका अध्यक्ष शरण केसीले साथ दिए । २५ ÷२४ हजार उपलब्ध गराएर ।  मंगलबार ७५ हजार प्रदान गरिए पछि थप सहयोग जुटाउन लागि पर्ने नरेन्द्रले प्रतिवद्धता जनाउँनु भएको छ । 

पत्रकारिताको शक्ति

गरिव परिवारमा जन्मिएकी भावनाको तस्वीर २०६४ सालमा कान्तिपुर दैनिक र नेपाल साप्ताहिकमा छापिएको थियो । तस्वीर छापिए पछि काठमाण्डौं मोडेल अस्पतालले दोलखामा सञ्चालन गरेको गौरीशंकर जनरल अस्पतालले भावनाको निःशुल्क उपचार गरिदिने प्रस्ताव गरेको थियो । त्यसको चार वर्ष पछि सिविन नेपाल र ग्रामीण विकास टुकी संघको सक्रियतामा भावनालाई अस्पताल लगिए पछि उपचार गरी उनको अनुहारमा भएको रौं हटाइएको थियो । सुरुमा भावनाका पिता कालुले उपचारका लागि इन्कार गरेका थिए । पछि दोस्रो पटकको प्रयासमा कालु छोरीको उपचार गराउनका लागि इच्छुक देखिएका थिए । २०६८ सालको फागुनमा उनको पहिलो शल्यक्रिया भएको थियो । शल्यक्रिया गरेका थिए डाक्टर शंकर राईले । शल्यक्रिया पछि भावनाको अनुहारको रौं हराउँदै गएको उनका पिता कालुले बताउनु भयो । “अब फेरी मंसिरमा उपचार गर्न ल्याउनु भनेका छन् । ” कालुको भनाई छ । पत्रकारहरुकै कारण आफ्नी छोरीको उचपार मात्र भएन पढाई खर्च समेत जुटे पछि कालु थामी मंगलबार जिल्ला प्रशासन कार्यालय दोलखामा उत्साहित देखिनु भएको थियो । 

नरेन्द्रले जुटाएको रकम हस्तान्तरण गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पत्रकारिताको शक्तिले गरिव परिवारमा जन्मिएकी भावनको उद्धार भएकोमा खुसी व्यक्त गर्दै पत्रकारिता सँग सँगै मानवहितका कार्यमा पनि जुट्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो । 
अहिले भावन ९ वर्षकी भईन् । उपचार पछि उनी विद्यालय जान थालेकी छन् । अब त उनका लागि पढाई खर्च पनि जुटेको छ । सुरुमा भावन देखी अन्य केटाकेटीहरु डराउने गरेकाले उनलाई विद्यालय जान समस्या भएको थियो । त्यसो त २०६४ सालमा दोलखाका पत्रकार राजेन्द्र मानन्धरले भावनाको फोटो खिचेर क्यामेरामा देखाउदा भावना आफ्नै फोटो देखेर भागेकी थिइन् ।


0 comments:

Post a Comment