Saturday, February 22, 2014

“हिउँले यसरी खाएको थियो नविनाको ज्यान”

अगिल्लो हप्ता भारतको दार्जिलिङबाट आफ्नो थातथलो घुम्न आएका एक परिवारलाई  दोलखाको कालिञ्चोक घुमाइ जिन्दगीकै सबभन्दा पीडादायक साबित भयो । हिमपातमा फसेपछि उनीहरुले आफ्नो परिवारको एक सदस्यनै गुमाउँनु  पर्यो । आज पनि फेरी हल्का बर्षा सँगै हिमपात सुरु भएको छ । हिमपातमा फसेपछि फसेर परिवारको सदस्य गुमाएको एउटा परिवारको कथा ।
कालिन्चोकमा परेको हिउँ नागरिक दैनिकबाट
दोलखा बाबरे–८ का विष्णुप्रसाद खतिवडा आफ्नी श्रीमती, छोरा र छोरीलाई लिएर कालिञ्चोक भगवती दर्शन गर्न जाँदा अत्यधिक हिमपात भयो । फर्कने बेलामा बाटो भुलेर दुई दिन जंगलमै अलपत्र परे ।

 वि.सं.२०५३ सालमा रोजगारका लागि दार्जिलिङ गएका थिए, विष्णुप्रसाद । उतै छोराछोरी जन्मिए । नेपाल फिर्ने अवसर जुरेको थिएन । यसपालि छुट्टीको मौका पारेर छोराछोरीलाई थातथलो देखाउन सपरिवार आइतबार सदरमुकाम चरिकोट आइपुगेका थिए ।

कालिञ्चोक भगवतीको भाकल रहेकाले गाउँ जानुअघि मन्दिर दर्शन गर्न जाने पतिपत्नीको सल्लाह भयो । त्यहीअनुसार चरिकोटबाट कालिञ्चोक लागेका उनीहरूले भगवतीको दर्शन गर्न त भ्याए, तर फर्कंदा बाटो भुले । त्यतिबेला कालिञ्चोकमा भारी हिमपात भएको थियो चरिकोटबाट १७ किलोमिटर टाढा रहेको कुरीभञ्ज्याङसम्म मोटरबाटो छ ।
 नियमित बस चल्दैन । गाडी रिजर्भ गरेर लैजानुपर्छ । त्यस दिन बिहानैदेखि पानी परेकाले रिजर्भ गाडी पनि पाइएन । उनीहरू हिँडेरै कुरीभञ्ज्याङ बजार पुगे । त्यहाँबाट एक घन्टा उकालो चढेपछि ३ हजार ८ सय मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरमा पुगे । अगिल्लो शुक्रबार र शनिबार परेको हिउँले कालिञ्चोक क्षेत्र पूरै ढाकिएको थियो ।

 ‘कुरी भञ्ज्याङ पुगेपछि छोराछोरीले भोक लाग्यो भने, उनीहरूलाई हल्का नास्ता गराएँ, दर्शन गर्नुपरेकाले श्रीमान् श्रीमती चाहिँ भोकै उकालो लागे मन्दिर पुगेर फर्कने बेला साँझको ४ बज्नै लागेको थियो । मन्दिरछेउको चिया पसलमा खाजा खाएर उनीहरू कुरी भञ्ज्याङ बजारतिर झरे । त्यतिबेला बादल मडारिएर पानी पर्न थालिसकेको थियो ।
उनीहरू हिउँले ढाकिएको चिप्लो बाटोमा सुस्तसुस्त अघि बढ्दै थिए । बादलले आकाश ढाकेर अन्धकार छाएको थियो । जब बजारनजिकैको फाँटमा पुगे, वरिपरि सेताम्मेबाहेक केही देखेनन् । यहीँनिर उनीहरूले बाटो भुले । बजारतिर झर्नुको साटो सोझै दाहिनेतिर हान्निए । त्यहाँबाट बजार केही पाइलामात्रै पर थियो, तर उनीहरू लगातार चार घन्टा हिउँको बाटो हिँड्दा पनि गन्तव्य भेट्न सकेनन् ।

 हिँड्दा–हिँड्दा जब भिरमा पुगे, तब मात्र उनीहरूले बाटो भुलेको चाल पाए । श्रीमती र छोरी दुवै रुन थाले । सबैजना चिच्याए । कराए । गुहार मागे । तर, कसैले सुनेनन् । धन्न मन्दिरबाट तल झर्ने बेलामै राजधानीमा रहेका दाजु तोयाको परिवारलाई खबर गरेका थिए । ‘उहाँहरूले मन्दिरबाट सोझै झर्न भनेर बाटो बताइरहनुभएको थियो, तर कुरा गर्दागर्दै मोबाइलको चार्ज सकियो,’ विष्णुले भने ।

 भोलिपल्ट घाम झुल्किएपछि पनि उनीहरूले बाटो खुट्ट्याउन सकेनन् । वरिपरि भिरपाखा र जंगलबाहेक केही देखेनन् । त्यो दिन पनि बस्ती भेटिन्छ कि भनेर लगातार हिँडिरहे । चप्पल लगाएकी पत्नी सिर्जनाको खुट्टा हिउँले फुटिसकेको थियो । छोरी नवीनाले चप्पलसँग मोजा लगाएकी थिइन् । दिनभरि हिँड्दा–हिँड्दा दुवैको खुट्टा हिउँले खाइसकेको थियो । खुट्टा पटपटी फुटेर रगत बग्न थालिसकेको थियो ।
त्यस दिन साँझसम्म हिँड्दा पनि उनीहरू अलपत्रै परिरहे । जति हिँडे पनि जंगलबाहेक केही भेटेनन् उनीहरुले । त्यतिबेलासम्म चिसो र लगातारको हिँडाइले छोरी थला परिसकेकी थिइन् । उनी एक पाइला सार्नधरी असमर्थ थिइन् । त्यसपछि विष्णुले छोरीलाई सम्हालेर पत्नी र छोरालाई सहयोग खोज्न केही माथिसम्म पठाए । सहयोगको खोजीमा निस्केका आमा–छोरा फर्कंदासम्म छोरी नवीनाको ज्यान गइसकेको थियो ।

 यसबीच सोमबार रातिसम्म पनि उनीहरू घर नफर्केपछि दाइ तोयाले प्रहरीलाई खबर गरे । मंगलबार बिहानै सदरमुकाम चरिकोटबाट प्रहरी र नेपाली सेनाको टोली खोजी र उद्धारमा खटियो ।
दिउँसोतिर मोबाइलको लोकेसन र कुरी भञ्ज्याङबाट झन्डै ३ घन्टा पर रहेको भिर नजिकै जंगलमा उनीहरू हिँडेको पाइला फेला पर्यो  । सुरक्षाकर्मी त्यसैलाई पछ्याउँदै अघि बढे । सेनाले डोरीको सहायताले उनीहरूको उद्धार गर्यो । अनि अस्पताल सम्म पुरायो .
सहकार्मी रमेश खतिवडाले दियको जानकारीको आधारमा

0 comments:

Post a Comment