Wednesday, September 19, 2012

तामाकोसी तेस्रोको अन्योल कहिले सम्म




शेरबहादुर भुजेल 

तामाकोसी तेस्रो जलविद्युत आयोजनाको बारेमा स्थानियले चासो देखाउँदै गर्दा सरकारले ग्यारेण्टि बस्न नसक्ने जनाएको छ । 
उर्जा मन्त्रालयले शुक्रबार आयोजनाको प्रर्वधक कम्पनी एसएन पावरलाई पत्र लेखेरे आयोजना निर्माणका लागि सरकार ग्यारेण्टि बस्न नसक्ने जवाफ पठाए पछि आयोजना निर्माणमा अन्योल छाएको छ । यस अघि एसएन पावरले आयोजना सँग सम्वन्धित कर्मचारीलाई अवकास दिए पछि आयोजना निर्माण हुनेमा आशंका व्यक्त गर्दै दोलखावासीले चासो देखाउन थालेका थिए ।
नर्वे सरकारको स्वामित्वमा रहेको एसएन पावरले कर्मचारी कटौती गर्न थाले पछि आयोजना स्थल दोलखाका अगुवाहरुले आइतवार सदरमुकाम चरिकोटमा छलफल गरेका थिए । उता उर्जा मन्त्रालयले भने एसएन पावरले अघि सारेको सार्वजनिक निजी साझेदारी थ्रिपी मोडेललाई पनि अस्विकार गरेको छ । गएको शुक्रबार नेपाल सरकारका उर्जा सचिव हरेराम कोइरालाले एसएन पावरलाई पत्र लेखेरे तामाकोसी तेस्रो आयोजना निर्माणका लागि सरकार ग्यारेण्टि बस्न नसक्ने र थ्रिपी मोडेलमा पनि आयोजना निर्माण गर्न नसकिने बताउँनु भएको थियो । 
एसएन पावरले तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि विगतदेखीनै सरकार ग्यारेण्टि बस्नु पर्ने माग उठाउँदै आएको थियो । एसएन पावरले विद्युत खरिद सम्झौता (पिपिए) र वित्तिय व्यवस्थापन लगायतमा सरकारलाई ग्यारेण्टि वसिदिन आग्रह गरेको थियो । आयोजना विकास सम्झौता नगरिदिएको र भनेको दरमा विजुली खरिद नगरिदिएको, बिजुली भारतमा बेच्न खोजेको भएपनि विद्युत सम्झौता नगरिदिएको भन्दै आयोजनालाई निर्माण चरणमा लैजान नसकिएको एसएन पावरले बेला बेलामा भन्दै आएको थियो । 
आयोजना निर्माण अनिश्चित भएपछि एसएन पावरले प्राविधिक र समाजिक सेवाका गरी ११ जना कर्मचारीलाई १५ भदौबाट सेवाबाट हटाएको थियो । कर्मचारी हटाए पछि दोलखा जिल्लावासीले चासो देखाएका छन् । आइतवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका पुर्व जनप्रतिनिधि, जिल्ला स्थित राजनीतिक दलका प्रमुख र नागरिक समाजका प्रतिनिधिहरुले सरकारका कारण ठुलो आयोजना रोकिनु दुःखद भएको जनाएका छन् । विदेशी लगानी भए पनि तामाकोसी तेस्रो जलविद्युत आयोजना नेपालको विद्युत विकासको लागि कोसेढुंगा हुने पुर्व सासंद आनन्दप्रसाद पोखरेलको भनाई छ । आयोजना रोकिनु दोलखको लागि मात्र नभएर सिङे राष्ट्रकै लागि दुःखद भएको पोखरेलको भनाई छ । पुर्व जिविस सभापति रुद्रबहादुर खड्का तमाकोसी तेस्रो आयोजना रोकिनु कारण प्रष्ट पार्न सरकारलाई आग्रह गर्नु हुन्छ । आयोजना रोकिनुको पछाडी कमिसनको खेल हुने भएकाले त्यसलाई दोलखाली नागरिकले खबरदारी गर्नु पर्ने खड्काको भनाई छ । छलफलका सहभागीले तामकोसी तेस्रो रोकिनुले अन्य विदेशी लगानिमा निर्माण हुने जलविद्युत आयोजना समेत प्रभावित हुने भन्दै तामाकोसी तेस्रो आयोजनाको गाँठो फुकाउन सरकारलाई आग्रह गरेका छन् । 
यस अघि एसएन पावरको स्वामित्वमा रहेको हिमाल पावरले निर्माण गरेको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनामा सरकार ग्यारेण्टि वसिदिएको थियो । खरिद गरिएको बिजुलीको पैसा तिर्न नसकेमा प्राधिकरण डिफल्डर हुने र सो पैसा   सरकारले तिर्ने खिम्तीको पिपिएमा व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरिएको भएपनि खिम्तीलाई नेपाल विद्युत प्राधिकरणले पैसा तिर्न डिफल्डर भने भएको छैन । एसएन पावरले तामाकोसी तेस्रोमा पनि खिम्तीको जस्तै गर्न खोजेको टिप्पणी हुन थालेको छ । 
एसएन पावरले निर्माण गर्ने भनिएको तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि करिव एक अरब ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । ६ सय ५० मेगावाट क्षमताको यो आयोजना बढी बिजुली आवश्यक पर्ने रातीको सयममा समेत लगातार ६ घण्टासम्म क्षमता अनुसारकै बिजुली उत्पादन गर्न सकिने आयोजना भएकाले बढ्दो लोडसेडिङ कम गर्नका लागि यो आयोजना उपयोगी मानिएको छ ।  
सरकारले फागुन २०६३ मा एसएन पावरलाई तामाकोसी तेस्रो जलविद्युत आयोजनाको सर्वेका लागि अनुमति पत्र दिएको थियो । ५ वर्षे सो अनुमति पत्रको म्याद गत फागुनबाटै सकिएको छ । सुरुमा ८ सय ८० मेगवाट विद्युत उत्पादन गर्ने लाईसेन्स लिएको कप्पनीले पछि आयोजनाको क्षमता घटाई ६ सय ५० कायम गरेको थियो । सर्वेक्षणका सबै काम सकिएको उल्लेख गर्दै एसएन पावरले गत वर्षको ११ फागुनमा उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन दिएको थियो । 
यता जिल्लावासीहरुले भने निर्माण सुरु हुने चरणमा पुगेको पुगेको आयोजना निर्माणका लागि सम्झौता गर्न सरकारले ढिला सुस्ती गरेको भन्दै त्यसको विरोध गरेका छन् । 




0 comments:

Post a Comment