Thursday, September 6, 2012

शैक्षिक अवस्था सुधारका लागि साझा प्रतिवद्धता


दोलखाको वर्तमान शैक्षिक अवस्थालाई सुधार गर्नका लागि जिल्ला स्थित सरोकारवाला व्यक्तिहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिक्षा दिवस २०६९ को अवसरमा दोलखा सदरमुकाम चरिकोटमा जिल्ला विकास समिति दोलखा र जिल्ला स्तरिय शिक्षा सरोकार समन्वय समिति दोलखाले आयोजना गरेको खुल्ला वहस कार्यक्रममा आठ बुँदे प्रतिवद्धता व्यक्त भएको हो ।
जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षक विद्यार्थी संग संगठनका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी सहित नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी शिक्षक, विद्यार्थी शिक्षा क्षेत्रमा काम गर्ने संघ संगठन समेतको सहभागितामा दोलखामा विद्यमान शैक्षिक अवस्थाका बारेमा छलफल पश्चात लिखित प्रतिवद्धता व्यक्त भएको हो ।

प्रतिवद्धतामा विद्यालयलाई सरकारले शान्ति क्षेत्र घोषणा गरिसकिएको अवस्थामा यसलाई पुर्ण कार्यन्वयमा ल्याउने प्रतिवद्धता व्यक्त भएको छ । यसैगरी विद्यालयमा सुशासन कायम गराउनका लागि सबैले शिक्षा ऐन नियमावलीको परिधिभित्र रहि आफ्नो भुमिका निर्वाह गर्ने प्रतिवद्धता भएको छ । यसैगरी सबै वालवालिकहरुको पहुँच विद्यालयमा पुर्याउनका लागि हालको ९१.५ प्रतिशतबाट ९६ प्रतिशत पुर्याउने सहमति भएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्ला तहमा जिल्ला शिक्षा कार्यालय, क्षेत्रिय तहमा श्रोत केन्द्र र स्थानीय तहमा विद्यालय व्यवस्थापन समिति मार्फत प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
यसैगरी जिल्लाका सबै विद्यालयमा रिक्त शिक्षकको पदपुर्ति गर्नका लागि जिल्ला तहमा एउटै छनोट समिति बनाई क्षमतावान शिक्षकको व्यवस्था गर्ने र शिक्षा क्षेत्रमा कार्यरत सरकारी गैरसरकारी संघ संस्थाको आफ्नो बजेट र कार्यक्रमलाई पहुँचको आधारमा नभई आवश्यकताको आधारमा विनियोजन गरी सम्पुर्ण क्षेत्रमा पुर्याउन प्रयास गर्ने प्रतिवद्धता गरिएको छ । कार्यक्रममा दोलखाका जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले प्रतिबद्धता कार्यन्वयमा ल्याउनका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी सापकोटाले भर्खरै जिल्ला शिक्षा कार्यलय दोलखाले जिल्लाभरका विद्यालयमा गरेको अनुगमनबाट १० हजार विद्यार्थी फर्जी देखिएको जानकारी गराउँनु हुँदै शिक्षा कार्यालय जिल्लाको शैक्षिक सुधारका लागि प्रयासरत रहेको बताउँनु भयो ।
कार्यक्रममा कालिञ्चोक उच्च माविका विद्यार्थी गौतम बस्नेत, नेपाल विद्यार्थी संघका राकेश श्रेष्ठ, नारायणी उच्च मावि भिरकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम उप्रेती, अनेरास्ववियुका सन्तोष विमली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष राजनबहादुर शिवाकोटी, काउले निमाविका प्रधानध्यापक कृष्णबहादुर खड्का, नारायणी उच्च माविका प्रचार्य यज्ञबहादुर खत्री, नुनथला निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण शर्मा, बैत्यश्वर उच्च मावि नाम्दुका प्राचार्य रविचन्द्र आचार्य, राहत शिक्षक संघर्ष समितिका अध्यक्ष श्याम मैनाली, अखिल नेपाल शिक्षक संगठनका जिवसराज खड्का, कालिञ्चोक उच्च माविका प्राचार्य नवराज न्यौपाने, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाई, अमर उच्च मावि विद्यालय व्यवस्थापन समितिका भवेन्द्र कार्की, अनेरास्ववियु क्रान्तिकारीका प्रसुन कार्की, पुर्व जिविस उप सभापति शिवप्रसाल भण्डारी लगायतले दोलखाको विद्यमान शैक्षिक अवस्थाका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी दोलखाका कुलबहादुर बुढाथोकी, नेपाली काँग्रेसका सभापति ताराबहादुर कोइराला, नेकपा एमालेका सचिव भरत दुलाल, जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटा, जिल्ला विकास समिति दोलखाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत देवेन्द्र कार्कीले प्रतिवद्धतालाई कार्यन्वयनमा ल्याने बताउनु भयो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मीद्धय लक्ष्मण खड्का र विनिता शिवाकोटीले गर्नु भएको थियो ।

0 comments:

Post a Comment