Sunday, September 9, 2012

अनौठो केरा फलेपछि हेर्नेको ओइरो (फोटो फिचर )




शेरबहादुर भुजेल 


दोलखाका दुई किसानको बगैंचामा अनौठो केरा फले पछि अहिले हेर्नेहरुको ओइरो लागेको छ । जिल्लाको दक्षिणी गाविस पवटी र फस्कुका दुई किसानको बगैंचामा अनौठो प्रकारको केरा फलेको हो । 
पवटी गाविस वडा नम्बर ६ का कृषक लक्ष्मीप्रसाद ओलीको बगैंचामा एउटै बोटमा दुई घरी केरा पसाएको छ । चिनिया माल्बु जातको केराको एउटै थम्बाबाट दुई घरी केरा पसाएको हो । यस्तै फस्कू गाविसको साउँतेका कृषक रामजी खड्काको बगैचामा पनि भरखरै स्थानिय बैंयु जातको केरामा एउटै थम्बाबाट दुई घरी केरा पसाएको छ । 
यसरी एउटै थम्बाबाट दुई घरी केरा पसाएको देखेपछि अचम्म मान्दै उक्त केरा हेर्न स्थानिय वासिन्दा लगायत टाढा टाढाबाट मानिसको भीड लागेको केरा धनी ओली र खड्काले बताएका छन्  ।
एउटै बोटमा दुई घरी केरा पसाएमा त्यो केराको धेरै महत्व हुने र जुन केरामा विशेष केही तत्व रहने भएकाले उक्त केरा धेरै मुल्यवान हुने बूढापाकाको भनाई गाउँमा फैलिए पछि केरा हेर्नेको भीड लागेको हो । आफ्नो बारीमा फलेको अनौठो केरालाई एक जना व्यक्तिले ४० हजारमा किन्छु भने पनि नदिएको पवटीका किसान ओलीले बताउनु भयो । गत वर्ष पनि पवटी सिम्टेकै कृषक रामजी ठकुरीको बगैचामा पनि एउटै थम्बाबाट दुइ घरी केरा पसाएको थियो ।
यता जिल्ला कृषि विकास कार्यालय दोलखाका वागवानि विकास अधिकृत श्रीलाल बराल कुनै पनि रासायनिक कारणले एउटै थम्बाबाट दुई घरी केरा पसाउन सक्ने बताउनु हुन्छ । “कुनै पनि प्रकारको केमिकल हाजार्डका कारण यस्तो हुन्छ । वा ठुलो आवाजले चट्याङ पर्दा पनि त्यसको असरले गर्दा केरामा यस्तो हुने गर्छ । ” बरालले भन्नु भयो । एउटै थम्बाबाट दुई घरी पसाएको केराको झाङबाट अन्यत्र सारेको विरुवा पनि त्यस्तै गरी दुई घरी पसायो भने चाही त्यसको थप प्रसार गर्दा राम्रो उत्पादन हुने बरालले जानकारी दिनु भयो ।







0 comments:

Post a Comment