Friday, September 7, 2012

धमाधम भित्रिदै निजी लगानी, दोलखाली उत्साहित


शेरबहादुर भुजेल

राजाधानी काठमाण्डौबाट छोटो समयमै आइपुगिने सुन्दर जिल्ला दोलखामा पछिल्लो समय ठुला औदोद्यिक समुह र व्यवसायिक घरानाहरुको लगानी धमाधम भित्रिन थालेको छ । लगानि भित्रे सँगै दोलखालीहरु उत्साहित हुन थालेका छन् ।  जिल्लामा लगानि भित्रन थालेपछि दोलखाली भने उत्साहित हुन थालेका छन् ।
जैविक विविधताका साथै जलश्रोतमा धनी दोलखामा केही समय यता कृषि, जलश्रोत, पशुपालनका लगायत बिभिन्न उद्योग साथै कच्चा पदार्थ उत्पादन हुने कारखाना धमाधम स्थापना हुन थालेका छन् । देशका ठुला लगानीकर्ता र उद्योगपतिहरुले समेत जिल्लाको बिभिन्न क्षेत्रमा लगानी गर्न तर्फ आर्कषित देखिएका छन् ।

सदरमुकाम चरिकोट नजिकै मकैबारी क्षेत्रको २७ रोपनी जग्गामा गत जेठबाट दिब्य प्लाई उद्योग सञ्चालनमा आएको छ । १४ करोडको लगानीमा जिल्लाका तिन र राजधानीका तिन व्यवसायीले शुरु गरेको यो उद्योगले शुरुको चरणमा अहिले दैनिक एक ट्रक प्लाई उत्पादन गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिनु भयो । उद्योगमा व्यवसायीहरु  बालकृष्ण शिवाकोटी, मालती गुरुङ, शिव शिवाकोटी, भरत चौधरी, गोपाल कार्की र मार्कन्य अधिकारीले लगानी गरेका छन् । उद्योगमा हाल एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस्तै लाँकुरीडाँडा गाविसको हलहलेमा ७० लाखको लगानीमा कालिञ्चोक मिनिरल वाटर प्रालि सञ्चालनमा आएको छ । निजी शिक्षण क्षेत्रकी लगानीकर्ता गिता राणाको समुहले शुरु गरेको यो कारखानाले समेत उत्पादन थालिसकेको छ । कारखानाबाट उत्पादित पानीले राजधानी र आसपासका जिल्लाका बजार धानेको उनले बताईन् । राणाकै समुहले सदरमुकाम चरिकोटमा ५५ बेडको अस्पताल र नर्सिङ कलेज समेत चलाउदै आएको छ ।
यस्तैे दुग्ध व्यवसायी लगायत जिल्लाका बिभिन्न व्यक्तीहरुको लगानीमा बोच र लाँकुरीडाँडा गाविसको १५ सय हेक्टर जमिन क्षेत्रमा पाँच सय वटा गाई पालेर अत्याधुकिन प्रविधि सहितको कालिञ्चोक काउ फार्म एण्ड रिसर्च सेन्टर समेत खुल्ने तैयारीमा छ । १० करोडको लगानीमा सञ्चालन हुन लागेको यो फार्मलाई पशुपालन सम्बन्धी अध्ययन गर्ने साथै गर्भाधान केन्द्रका रुपमा सञ्चालन हुने यसमा लागेका दोलखा जिविसका पूर्व सभापति लालकुमार केसीले जानकारी दिनु भयो । फार्ममा घाँसबाट दाना बनाउने प्रविधि समेत सञ्चालन हुने छ । जफे र शैलुङ गाउँमा समेत ठुलो लगानीमा पशुपालन फार्म खुल्ने तैयारी भईरहेको छ ।
  व्यवसायिक घराना मुरारका समुहको लगानीमा दोलखाको चर्णावती खोलामा निर्माणाधिन जलबिद्युत आयोजना समेत सञ्चालनको अन्तिम तैयारीमा पुगेको छ । उद्योगपति पशुपति मुरारका लगायतको समुहले भीमेश्वर नगरपालिका क्षेत्रमा पर्ने चर्णावती खोलामा निर्माण गरेको ३.६ मेगावाटको चर्णावती हाईड्रोपावर सञ्चालनको अन्तिम तैयारीमा पुगेको हो । यस्तै सोही समुहले चर्णावती खोलाकै दोश्रो क्षेत्रमा थप ६ मेगावाट बिजुली उत्पादन गर्ने तैयारी समेत गरेको छ । जलश्रोतमा धनी जिल्लाका अन्य स्थानका जलबिद्युत आयोजनामा समेत लगानी गर्न व्यवसायिक घराना र ठुला उद्योगपतीहरुले चासो देखाएका छन् । जिल्लामा बन्दै गरेका आधा दर्जन निजी जलबिद्युतहरुमा देशका ठुला व्यवसायीहरुले लगानी गरेका छन् । प्लाई उद्योग सञ्चालन गर्दै आएको उद्योगपति बालकृष्ण शिवाकोटी लगायतको समुहले सदरमुकाम चरिकोटमै तिन तारे होटल चलाउन अध्ययन समेत थालेको छ । “पर्यटनको राम्रो सम्भावना भएको चरिकोटमा तिन तारे होटलको सम्भावना देखेर तयारी थालेका हौँ” शिवाकोटीले भन्नु भयो । यस्तै चरिकोटकै व्यवसायीहरुको समुहले महादेव खोलामा समेत अर्को मिनिरल वाटर कारखाना खोल्ने तैयारी थालेको छ ।
मैनापोखरी, भीमेश्वर नगरपालिकाको विरुवा, सुनखानी लगायतका ग्रामिण ईलाकामा समेत प्लाई उडका कच्चा पदार्थ उत्पादन गर्ने आधा दर्जन कारखाना यस अघि नै खुलिसकेका छन् । राजधानीबाट नजिक रहेकाले जिल्लामा निजी क्षेत्रको आकर्षण बढेको उद्योगपति मुरारका बताउनु हुन्छ । “राजधानीको बिग्रदो वातावरणका कारण सरकारले राजधानीमा उद्योग खोल्न बन्देज लगाएका कारण निजी क्षेत्रको आकर्षण दोलखामा बढेको हो” मुरारको भनाई छ । बिजुली आपुर्ती नियमित हुने गरेका कारण पनि निजी क्षेत्रको आकर्षण दोलखामा बढेको हो । ३ हजार मेगावाट बिजुलीको सम्भावना रहेको दोलखामा आधा दर्जन जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । जिल्लाकै खिम्ती खोलाबाट निकालिएको  बिजुली र छिमेकी सिन्धुपाल्चोक जिल्लामा सञ्चालित लामोसाँघु जलबिद्युत केन्द्रबाट उत्पादित बिजुलीले बिद्युत प्राधिकरणले अहिले सम्म जिल्लामा बिद्युत आपुर्ती समेत नियमित गर्द आएको छ ।
जिल्लाको समग्र विकास, सडक र उर्जा शक्तीको तिव्र गतिको विकासका कारण जिल्ला निजी क्षेत्रको आकर्षण बढेको जिल्ला विकास समितिका पूर्व सभापति एवम एमाले नेता लालकुमार केसी बताउनु हुन्छ । “हामी काहाँ प्रत्येक गाविसमा सडक सञ्जाल पुगेको छ, बिद्युत आपुर्ती नियमित सगैँ अबको केही बर्षपछि यो जिल्ला लोडसेडिङमुक्त हुदैछ” केसीले भन्नु भयो । “पर्यटन, कृषी क्षेत्रको सम्भावना रहेको जिल्लामा यही कारण पनि निजी क्षेत्र आकर्षित भईरहेको हो ” । उद्योग बाणिज्य महासंघ उपाध्यक्ष समेत रहेका उद्योगपति मुरारकाले जिल्लामा उत्पादन हुँदै गरेका बिजुलीकै कारण दोलखामा निजी लगानीको सम्भावना बढेको सुनाउनु हुन्छ । “हामीले दोलखाको निकालेको बिजुली हामीले नै त्यहाँ उद्योग र कलकारखाना खोलर त्यसैमा प्रयोग गर्न सक्छौँ” वहाँको भनाई छ – “त्यसका लागी जिल्लाबासी सकरात्मक हुनुपर्छ र उनिहरुको सहयोग नै ठुलो कुरा हुन्छ” । उनले जलबिद्यतुको काम सकिए लगतै जिल्लाको अन्य क्षेत्रमा लगानी गर्ने संकेत समेत दिए ।


0 comments:

Post a Comment