Wednesday, December 5, 2012

सिडिओसँग बाटो मागे लप्चीवासीले


“भीरमा किला खोपेर बनाइएको बाटोमा भीरको लहरा समाउदै हिड्नुपर्छ, तल हेर्दा कहालीलाग्दो तामाकोसी छ, जोगिएर हिड्ने, सडक छिटो बन्नु परयो” लप्चीका गाउँका कर्मा शेर्पा आइतवार दोलखामा निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीलाई गुनसो गर्दै हुनुहुन्थ्यो । दोलखाको लामाबगर गाविस हुँदै चीनको सिमानासँग जोड्ने लामावगर–फलाक सडक तत्काल निर्माण गर्न माग गर्दै लामावगर गाविस स्थित लप्ची गाउँका वासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र नै वुझाएका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै 
दोलखाको लामावगर गाविसमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाध स्थल निर्माण भएपछि उक्त सडक निर्माण गर्न नसकिने भएकाले आयोजना निर्माण हुनु पहिलेनै सडक निर्माण गर्नुपर्ने लप्चीवासीले माग गरेका छन् । सडक निर्माण हुँदै गर्दा फलाक र लप्ची वासीलाई आवतजावत गर्नका लागि पुरानो गोरेटो बाटो मर्मत हुनुपर्ने, माथिल्लो तामाकोशी आयोजनाले लामावगर गाविसको वडानम्बर २ र ३ वाट प्रयोग गर्ने गिटी र वालुवाको कर जिविसलाई नदिई सोही वडाको विकासका लागि खर्च गरिनुपर्ने, आयोजना निर्माण भइरहेको क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पहल गरी वातावरण सरसफाइ गर्नुपर्ने लगाएतमा माग सहितिको ज्ञापन पत्र लप्चीवासीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीलाई बुझाएका हुन् ।
ज्ञापन पत्र वुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीले लप्ची वासीको मागलाई सम्वन्धित निकायसँग छलफल गरी समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाउँनु भएको छ । उत्तरी चीनको सिमा सँग जोडिएको लप्ची गाउँमा १६ घरधुरीको वसोवास रहेको छ । अधिकाश परिवार चौरी पालन व्यवसाय गर्दै आएका उनीहरु नेपाली भाषा बोल्न समेत जान्दैनन् । बेलाबेलामा लामावगर हुँदै सदरमुकाम आउने बाटो नहुँदा आफुहरु पुरै रुपमा चीन सँग निर्भर रहनु पर्ने लप्चीवासीले गुनासो गर्दै आएका छन् ।
यही लामाबगरबाट चप्ची जोड्ने सडक जुन अलपत्र परेको छ । 
निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा नेपाल सरकारले चिनियाँ सिमा फलाक र लप्ची जोड्ने सडक आयोजना निर्माण अलपत्र परेको छ । सदरमुकाम चरिकोटबाट ६८ कोस टाढा लामाबगर पर्छ । त्यत्तिकै दूरीमा लामाबगरकै वडा नं. १ को लप्ची गाउ पर्छ । बहुचर्चीत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाध बनेपछि लप्ची जाने बाटो झनै जोखिममा पर्ने देखिएपछि हिड्नै नपाउने चिन्ता लप्चीवासीको छ । पछि बाधमा पानी भरिएपछि अहिले भएको हिड्ने बाटोसमेत डुबानमा परेको छ । लामाबगरदेखि तिब्बती सिमाना ङयाङलुङसम्म १३ किलोमिटर दूरी छ । त्यसमध्ये ३ किलोमिटर माथिल्लो तामाकोसीको बाध प्रभावित क्षेत्र हो । 
सडक डिभिजन कार्यालय चरिकोटले ९ किलोमिटर सडकको टेन्डर गरेर सडक निर्माण सुरु गरे पनि २ किलोमिटरको पनि ट्रयाक खोलिएको छैन । कठिन भाग त बाँकी नै छ । त्यो सडक उत्तर–दक्षिण जोड्न सबैभन्दा छोटो मार्गसमेत हो । लप्चीबासी र माथिल्लो तामाकोसीका अधिकारीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका उच्च अधिकारीहरु जिल्ला आउँदासमेत यो समस्या जाहेर गर्दै आए पनि यसको समाधान हुन सकेको छैन । लप्चीवासीसँग निमित्त प्रजिअ अधिकारीले सरोकारवाला निकायस“ग छलफल गरेर यसबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिनु भएको छ । ठेकेदारले सडकको काम नगरेपछि सडक कार्यालयले समेत पटक–पटक ताकेता गर्दै आएको छ ।
जिल्लास्थित सर्वदलीय बैठकले समेत अहिलेका ठेकेदारले दुई महिनाभित्र आङ्खनो काम पूरा नगरे ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने निर्णय यस अधिनै गरीसकेको छ । तीन वषर्देखि काम नहुँदा सडकको १२ करोड रुपैयाँ फ्रिज भइसकेको छ । नेपाली भाषा कष्टले बोल्ने तर तिब्बतीयन भाषा राम्रोसँग जान्ने लप्चीवासीको रहन सहन सबै तिब्बतीयनस“ग मिल्छ ।
नेपालतिर आउन कठिन बाटो भएकाले बजारका लागि तिब्बतको कुती र फलाकको भर पर्नुपर्छ । करिब ४ हजार मिटरको उचाइमा पर्ने लप्चीमा केही उब्जाउ हु“दैन । उनीहरूको पेसा चौंरीपालन नै हो । उनीहरु कातिक वैशाखसम्म लुम्नाङमा र जेठदेखि असोजसम्म लप्चीमा बस्छन् ।

0 comments:

Post a Comment