Friday, October 19, 2012

परदेशीलाई दशैंको चिठी


प्राण भन्दा प्यारो राजेश
न्यानो माया ।
म यहाँ आराम सँग बसेको छु । मलाई आशा छ त्यो विरानो मुलुकमा तिमीलाई पनि आराम नै होला । हुन त हजुर सँग टेलिफोनमा कुराकानी भइनै रहेको छ । तर पनि मनमा गुम्सिएका केही भावनाहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । फुर्सदको समयमा केही सुख दुःखका कुराहरु लेखी टोपलेको छु । केही रिसानी भए माफ पाउँ । यता त बुबा मुमा सबैलाई सन्चै छ । बहीनी राधिकालाई पनि आरामै छ ।
हजुर विदेश गएको ३ महिना पुग्नै लागेछ । विहे भएको २ महिनामै छोडेर जानु भयो । दशैं मानेर जानु होला भनेको मान्नु भएको न मलाई त विहे भएको पहिलो सालको दशैं हजुर सँगै बसेर मनाउँन कत्ति रहर थियो । तर के गर्नु भवगानले पनि सबैको रहर कहाँ पुरा गर्दा रहेछन र ?
हजुरको टेलिफोन नआएको पनि आज ७ दिन पुग्नै लाग्यो । काममा व्यस्त हुनुहुन्छ होला । त्यो विरानो मुलकमा के गर्दै हुनु हुन्छ । के खानु हुन्छ । मलाई त दिन दिनै पिर यो लागेर आउन थालेको छ सम्झदा खेरी पनि । गाउँको मार्सी धानको भात हजुरलाई कति मन पथ्र्यो त्यो अवरको खाडीमा के पाइएला र मार्सी धानको भात खान । यस पाली के भएर हो । दशैं अगाडी नै धान पाक्यो । गौरी खेत पहेलपुर भएको छ । धान पाकेर हिजो सुन्तली भाउजुको धान काट्ने मेलो थियो । मलाई त कस्तो नमज्जा लाग्यो सबैले जिस्काए । हुन पनि हो बिहे भएको १ वर्ष नपुग्दै हजुर विदेश तिर लाग्नु भयो । हामीले पढेर पनि केही गर्न सकेनौ । देशको हालत पनि यस्तै छ । मैले पनि गाउँमै प्लस टु पढेको अहिले आएर केही खेतीपाती गर्नु पर्यो ? अनि हजुर मलाई मेलामा कस्तरी जिस्काए मास्ला घरका भाउजुहरुले । विहे हुने वित्तिकै हजुर विदेश जानु पर्ने भयो । बुढा बुढी बेग्ला बेग्लै बस्ता राम्रो हुन्न रे विहे गरेको साल । यस्तै के के भने ? मेरो जवानी त्यसै खेर जाने भो भनेर पल्ला धरकी भाउजुले पनि त्यही माथि कुरा थपीदिनु भयो । मलाई कस्तो लाज लाग्यो म लाजले पानी पानी भए ।
अर्को कुरा हजुर गाउँ घरमा दशैंको रमझम सुरु भएको छ । विदेश जानेहरु धमाधम गाउँ आउदै छन् । केही कमाएर आए । कसैले गुमाएर आए । पल्लो घरको दिनेशको त कतारमा काम गर्दै मेसिनले हातै खाएर । विचराले पैसा पनि धेरै कमाउन सकेन छ । अलि अलि कमाएरको पनि उपचारमा सकायो रे । त्यसको विजोक देखेर त मलाई पनि कत्ति रुन मन लाग्यो । कतै हजुरलाई पनि त्यस्तै हुने होइन भनेर । बरु यतै बसेर केही उपाय खोज्नु पर्ने रहेछ । अहिले पो बुद्धि आउदै छ । के गर्नु ।
त्यो उपल्लो गाउँको झम्के कान्छाको श्रीमती पनि पोइला गईन । विचरा झम्के कान्छो विदेशमा पसिना चुहाएर कति काम गदै होला । अलि अलि घरमा पठाएको पैसा पनि बोकर हिडिन् । विचरा दशैंमा घर आउदै थियो रे । काठमाण्डौको एयरर्पोटमा ओर्लने वित्तिकै फोन गरेछन् गाउँबाट श्रीतमी पोइन गईन भनेर । अनि त विचरा त्यही बेहोस भएछ । अलिहे घर नआउने भनेर उतै डुलेर बसेको छ रे । अनी उसका २ छोरीहरु हजुरआमाले पालेका छन् । यो घटनाले पनि मलाई चकित पारेको छ । हजुरलाई लाग्ला कतै मैले पनि यस्तै त गर्ने होइन भनेर तर हजुर म कहाँ त्यस्तो गर्न सकुला र म त हजुर विना त एक पल पनि बाच्न सक्तिन । मलाई त दशैं आए जस्तो पनि भएको छैन । हजुर हुँदा त कति धेरै रमाइलो हुन्थ्यो । दशै नआको बेलामा पनि दशै आए जस्तो हुन्थ्यो । तर अहिले त दशैं आए जस्तो पनि लागेको छैन । गाउँमा रातो माटो र कमेरो गर्नेहरुको मारामार छ । दशैंको लागि पालेको खसी पनि बा काट्ने हो की नकाट्ने हो । भनेर बुबा दोधारमा हुनुहुन्छ ।
दशैमा टिका थाप्न माइती जानु पर्ने तर कसरी जाने हो एक्लै अरु अरु त जोडी बाधिएर आउँछन । तिनीहरुको अघि म एक्लै लुखुर लुखुर कसरी हिड्ने होला र ? बहीनी राधिकालाई लिएर जा भन्नु भएको छ मुमाले । त्यसै गर्नु पर्ला । तर हजुर यसपालीको दशैंमा आउन नपाए पनि अर्को पालीको दशैंमा भने जसरी पनि आउँनु होला है । म सदैव हजुरको बाटो हेरी हजुरकै प्रतिक्षमा लिन बिताएर बसेकी छु । हजुर विदेश गएबाट मैले मंगलबारको ब्रत बस्ने गरेकी छु । हजुरलाई राम्रो होस् भनेर । के गर्नु हजुरकै फोटो हेरेर दिन वितिरा छ । हजुरको कोठामा झुण्ड्याइएको त्यही खैरो कोट देख्दा तपाईको झल्कोले सताउने गर्छ ।
चिठीमा धेरै कुरा के लेखौ । अर्को दशैं हजुर म सँगै बसेर रमाइलो गरी मनाउँन पाउँ मेरो यही कामना छ । हजुर फर्के पछि यही कुनै व्यवसाय सुरु गरौला । अँ साँची अगि आमा आराम त हुनु हुन्छ भनेर भने तर वहाँलाई बेला बेलामा दमले सताउने गर्छ । त्यती बेला वहाँले हजुरको नाम लिई रहनु हुन्छ । औषधी गर्दा गर्दा बुबा दिक्क भई सक्नु भयो । अनि अर्को कुरा राधिका मैयाको बिहेको कुरो पनि चलीरा छ । मिल्यो भने मंसिरमा विहे गरिदिने कुरो गर्नु भा छ बुबाले । उ सँगै पढ्ने केटा सँग कुरा चली रा छ । हजुर र मैलै जस्तै सानैदेखी चिनजान भो रहेछन् । के हुन्छ थाहा छैन् ।
अर्को कुरा म हजुरलाई पहिला त धेरै पत्र कोर्थे । विहे नुहँदा हगी । अनि हजुरले पनि त कति राम्रा अक्षर पारेर चिठी लेख्नु हुन्थ्यो नि । अहिले त जमाना पनि फेरीयो । टेलिफोनमा धेरै कुरा हुन्छ । अन्तमा मैले हजुरलाई एउटा नयाँ खुसीको कुरो सुनाउँन चाहन्छु । टेलिफोनमा सुनाएकी छैन् । सायद म अब आमा बन्छु होला जस्तो छ । के हुन्छ अहिले यति भने । अरु पछि टेलिफोनमा कुरा गरौला ।
अहिलेलाई विदा चाहन्छु ।
उही हजुरकी प्राणप्यारी
सुमित्रा ।

0 comments:

Post a Comment