Saturday, November 10, 2012

गोलभेडाको खेती गरेका पवटीका किसानहरुले १५ लाख गाउँ भित्र्याए


मेरा गाउँका अनि म सँगै पढेका मेरा केही साथीहरु अहिले अरबको खडीमा पसिना चुहाउँदै महिनाको २०/२५ हजार कमाउँछन् होला । तर यही गाउँका बा–आमाहरुले गाउँमै सजिलै चार महिना दुःख गरेर लाखौं कमाएका छन् ।
दोलखाका दक्षिणी गाउँ पवटीका किसानहरु अहिले गोलभेडाको बीऊ उत्पादनतिर आकर्षित भएका छन् । गोलभेडाको बीऊ उत्पादनबाट यस वर्ष पवटीका किसानहरुले १५ लाखभन्दा बढी गाउँ भित्र्याएका छन् । एक वर्ष अघि परीक्षणको रुपमा किसानहरुले बीऊ उत्पादन गरेका थिए । अघिल्लो वर्ष यसबाट बीऊ उत्पादनमा सफल भएपछि यसवर्ष बीऊ उत्पादनमा लाग्ने किसानहरुको संख्या समेत बढेको स्थानीय शिक्षक शिवकुमार भुजेलले बताउँनु भयो ।
गोलभेडाको बीऊ उत्पादन गरेका पवटी गाविसको वडाहरु ६, ७ र ८ का किसानहरुले ४ सय ८५ किलो गोलभेडाको बिऊ उत्पादन गरेका हुन् । सिएल ११३१ जातको गोलभेडाको बिऊ उत्पादन गरी प्रतिकिलो एक हजार ९ सय रुपैयाँमा विक्री गरी ९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको अगुवा किसान बालकृष्ण ओलीले जानकारी दिनु भयो । गोलभेडा फलाएर बजार पुयाउनुभन्दा बीऊ उत्पादन सजिलो र ढुवानीमा समेत सहज भएकाले किसानहरु यसप्रति आकर्षित भएको ओलीको भनाई छ ।
पवटी–६ का किसान वीरबहादुर भुजेलका अनुसार फागुनमा टनेल बनाइ सानो सानो ड्याङ बनाएर बीऊ रोपिएको थियो बीऊ उम्रिन एक महिना जति लागेको थियो बीऊ उमे्रको २० दिन जतिमा बेर्ना अन्यत्र सारको र बैशाखमा बेर्ना सारेपछि बेर्ना सर्न हल्का सिंचाइ गरिएको थियो । असारमा फलेका गोलभेडा राम्रोसँग पाकेपछि टिपेर पानीले भरिएका प्लाष्टिक ड्रममा २ दिन राखेर मिचेर चाल्ने र तारेर बीयाँ सुकाएर बीऊ तयार गरेको भुजेलले बताउँनु भयो । राम्रोसँग गरेमा एक रोपनी जग्गामा २० देखि २५ किलोग्रामसम्म फल्ने किसानहरु बताउँछन् ।
त्यसैगरी सिर्जना जातको गोलभेडाको हाइबिड्र बीऊ लगाएका किसानले करिव ६ लाख रुपैयाँ बराबरको बीऊ उत्पादन गरेका छन् । सिर्जना जातको गोलभेडाको हाईबिड्र बीऊ बढीमा प्रतिकिलो ६० हजार रुपैयाँसम्म बिक्रि हुने किसानहरु बताउँछन् । पवटी गाविसका ८० जना किसानहरुले करिव ५० रोपनी जग्गामा गोलभेडाको बीऊ उत्पादनमा लागेका छन् । गोलभेडाको बीऊ उत्पादनमा संलग्न किसानले ४४ किलोसम्म उत्पादन गरेका छन् । तर सिर्जना जातको हाईबिड्र बीऊ भने १० किलो मात्र उत्पादन भएको छ ।
सिएल ११३१ को बीऊ सीएन सिड सर्भीस सेन्टर काठमाण्डौंले खरिद गरेको छ भने सिर्जनाको हाईबिड्र बीऊ भने गोलभेडा विज्ञ केदार बुढाथोकीले खरिद गर्ने किसानहरुले बताएका छन् । गाउँमै गोलभेडाको बीऊ उत्पादन हुन थालेपछि अहिले विदेश गएका युवाहरु समेत गाउँ फर्केर गोलभेडा खेती गर्न थालेका छन् ।

0 comments:

Post a Comment